काठमाडौँ – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि युएई ‘ए’ टिमलाई पराजित गरेको छ ।


ADVERTISEMENT


आईसीसी एकेडेमी ओभलमा टस जितेर ब्याटिङ राजेको नेपालले शानदार प्रदर्शन गर्दै ३३४ रनको विशाल चुनौति दिएको थियो । नेपालका ओपनर उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनसँगै युएईको ए टिमलाई विशाल लक्ष्य दिएको हो ।


ADVERTISEMENT

# # #


३३४ को विशाल लक्ष्य पाएको युएई ए व्याटिङमा पनि निरीह नै देखियो । उसले ४०.२ ओभरमा सबै विकेट गुमाउदै १४० रन मात्र बनाउन सक्यो । नेपाली बलरले उनीहरुलाई खलेर खेल्न दिएनन् ।

नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३३ रन बनएपछि युएईको ‘ए’ टिमले ठूलो लक्ष्य पाएको थियो । अभ्यास खेलमा नेपालका लागि ज्ञानेन्द्रले राम्रो ब्याटिङ गर्दै १५४ रनको पारी खेले । ज्ञानेन्द्रले १३१ बलमा १७ चौका प्रहार गर्दै १५४ रन बनाए । पछिल्लो समयमा नेपालका ओपनर्सको राम्रो ब्याटिङ नभई रहेको अवस्थामा ज्ञानेन्द्रको शतकीय प्रदर्शनले केही राहत दिएको छ ।

नेपालका लागि अर्का ओपनर दिलिप नाथले पनि अर्धशतक बनाए । दिलिप ७९ बलमा ६ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाउँदै आउट भए ।

ज्ञानेन्द्र र दिलिपले १४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि अनिलकुमार शाह भने सस्तैमा आउट भए । अनिल १४ रन बनाएर आउट भए । अनिलपछि ब्याटिङमा आएका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । ऐरी ३४ बलमा ३४ रन बनाएर आउट भए ।

ऐरीपछि ब्याटिङ गर्न आएका आरिफ शेखले राम्रो ब्याटिङ गरे । उनले अविजित ३३ बलमा ४१ रन बनाए । यता युएइका लागि वासिफ अहमेद, कर्थिक मयाप्पन र लक्ष्मण श्री कुमारले समान १/१ विकेट लिनु बाहेक अन्यले केही गर्न सकेनन् । नेपाली ब्याट्समेनसामु युएई ‘ए’का बलर निरीह देखिए ।

यता युएई ‘ए’का लागि मोहम्मद क्वासिम ४१ रन बनाउदा चिराग सुरीले १८ रन बनाए । यस्तै अलि मिर्जा र अंश तण्डनले समान १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले जम्मा ३६ रन दिए । यस्तै कप्तान पारस खड्काले ६.२ ओभर बलिङ गरेर १७ रन खर्चिँदै २ विकेट लिए । सोमपाल कामी र शक्ति गौचनका नाममा समान १/१ विकेट रह्यो ।

मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपालले युएईको ए टिमलाई २५ रनले पराजित गरेको थियो । अब नेपाले यही टोलिसंग थप एउटा अभ्यास खेल खेलेर माघ २१ मा नामिबियातर्फ लाग्नेछ ।