काठमाडौँ– गिरिजाप्रसाद कोइराला (जीपी) फाउन्डेसनले महिला सशक्तिकरणकेन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


‘महिला सशक्तिकरण : अवरोधहरू तोड्दै र अवसरहरू सिर्जना गर्दै’ विषयक सो कार्यक्रम बिहिवार नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै  नेतृ कोइरालाले वर्तमान परिवेशमा पनि राजनीतिक क्षेत्रमा महिलाको सुधार हुन नसकेकोमा दुःख व्यक्त गरिन् । संविधानले महिलालाई धेरै अवसर सिर्जना गरेता पनि ती कानुनहरु व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको उनको असन्तुष्टि थियो ।

नेपालको राजनीतिक परिवेशमा केही परिवर्तन देखिएपनि आम महिलाहरुको पीडा भने यथावत् रहेको उनको भनाई छ । महिला सशक्तीकरणका लागि गिरिजाबाबु सँधै तत्पर रहेको भन्दै उनले आफ्ना स्व. पिता गिरिजाप्रसाद कोइरालालाई स्मरण समेत गरिन् ।

नेपाली कांग्रेसका युवा नेता तथा जीपी फाउन्डेसनका सल्लाहकार भरत सापकोटाले महिलालाई प्रकृतिको संज्ञा दिदैँ नारीबिना सृष्टि असम्भव रहेको कुरामा जोड दिए । उनले अबको राजनीतिक समाजले पनि महिलालाई उच्च सम्मानका साथ अघि बढाउनुपर्ने धारणा राखे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले झण्डै ३० वर्षको जागिरका क्रममा महिला भएकै कारण आफूले भोग्नुपरेको चुनौती तथा समस्याबारे सुनाइन् । यद्यपि महिलाले चाहे जे पनि गर्न सक्ने भन्दै उनले दृढ आत्मविश्वासका साथ अघि बढ्न प्रोत्साहन समेत दिइन् ।

५० जना आमा समूहबीच सम्पन्न सो समारोहमा विशेष व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य चन्द्रादेवी जोशी, मिस नेपाल इन्टर्नेसनल सिता सुवेदी, महिला संघ केन्द्रीय सदस्यहरु तथा नेपाल स्काउटका प्रतिनिधि लगायतले उपस्थिती रहेको थियो ।