काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले बुधबार नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको हो ।


ADVERTISEMENT


स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा जित हात पारेको हो । यसअघि पहिलो खेलमा नेपालले घरेलू टोली स्कटल्याण्डलाई १ विकेटको रोमाञ्चक जित निकालेको थियो ।


ADVERTISEMENT

# # #


बुधबार नेपालको जितका लागि आरिफ शेखले ७८ रनको शानदार पारी खेले । त्यसक्रममा उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गरेका दीपेन्द्रसिंह ऐरीसँग १२३ रनको साझेदारी गरेपछि नेपालको जितको आधार तय भएको थियो ।

यस्तै नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ३ चौकाको मदतमा नटआउट ३८ रनको योगदान दिए । यस्तै कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले रनआउट हुनुअघि २३, आशिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान दिए । गुल्शन झाले ४ बलमा १ चौका र १ छक्काको मदनमा ११ रनमा नटआउट रहे । उनले विजयी छक्का प्रहार गरे ।

बलिङतर्फ नेदर्ल्याण्ड्सका माइकल लेभिटले २ विकेट लिए भने भिभियन किग्मा र पउल भान मीकेरनले १ विकेट हात पारे ।

यसअघि नेदरल्याण्डका लागि नोह क्रोसले सर्वाधिक ४८ रन बनाए । ५५ बल खेलेका उनले ५ चौका प्रहार गरे । यस्तै कप्तान स्कट इडवार्डने सर्वाधिक ४६ रन हाने । त्यसक्रमा उनले ७१ बलमा ४ चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले ३८, ज्याक लायन क्याचेटले २७ तथा रोयल्फ भान देर मर्भीले २० रन हाने ।

नेदरल्याण्डविरुद्ध नेपालको बलिङ राम्रो रह्यो । नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । त्यसक्रममा उनले ९.१ ओभरमा ४८ रन खर्चिए । यस्तै ललित राजवंशी, करण केसी र सन्दीप लामिछानेले सर्वाधिक २–२ विकेट लिए ।

आजको जितसँगै नेपालले ८ राष्ट्र सहभागी लिग–२ मा १४ खेल खेलेको नेपालले ४ खेलमा जित हात पारेको छ भने ८ खेलमा हार व्यहोरेको छ । यस्तै २ खेल अनिर्णित हुँदा र १० अंकसहित अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । यता १७ खेल खेलेको स्कटल्याण्ड ९ जित ६ हार र २ अनिर्णितसहित २० अंकका साथ चौथो स्थानमा रहेको छ ।

यस्तै नेदरल्याण्डले २१ खेलमा १३ जित, ६ हार र २ अनिर्णितसहित २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० खेलमा १४ जित र ६ हारसहित २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले अब आइतबार स्कटल्याण्डसँग तेस्रो खेल खेल्नेछ ।