नेकपा एमालेका नेता तथा सुनसरी क्षेत्र नं ४ को (क) बाट प्रदेश सभाका सांसद जगदीश प्रसाद कुसियतसंग हिमालयपोष्टको कुराकानी :


ADVERTISEMENT


 

निर्वाचन सम्पन्न भएपछि एमाले अझ भनौँ वाम गठबन्धनले सरकार निर्माणका लागि बहुमत पाएको छ । त्यस पछाडिका जुन किसिमका राजनीतिक दृश्यहरु देखिए । तिनलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ?


ADVERTISEMENT

# # #


जुन उद्देश्यका साथ वाम गठवन्धन बनेको थियो । त्यसलाई जनताले पनि अनुमोदन गरिसकेको छ । त्यो हिसाबबाट हामी पनि अगाडि बढ्दैछौँ । जनताको मतादेशका विपरित हामी जाँदैनौँ भन्ने छ । अब विस्तारै सरकार निर्माणको बाटो पनि सुरु भएको छ ।

चुनाव लगत्तै नयाँ सरकार बनिसक्नु पर्ने थियो । तर त्यो त हुन सकेन नि ?

नेपालको मात्रै नभई यो त संसारको चलन नै हो । नयाँ सरकारले जनमत प्राप्त गरिसकेपछि पूरानो सरकार स्वत काम चलाउ हुन्छ । उसले राजीनामा दिएर नयाँ दललाई सरकार बनाउनका लागि सहयोग गर्नुपर्छ । तर नेपाली कांग्रेसको वर्तमान सभापति तथा प्रधानमन्त्रीले जिद्धि गरेर केही संवैधानिक त्रुटीहरु देखाउँदै सरकारलाई टिकाउँदै गएका छन् । त्यसको एउटै उद्देश्य के हो भने अब कांग्रेसले सरकार निर्माण गर्न पाउँदैन र त्यसमा पनि शेरबहादुर देउवाले प्रधानमन्त्री हुने मौका पनि पाउनुहुन्न । त्यस कारणले जे अनैतिक गर्नुपर्छ अहिले नै गरिराखौँ भन्ने धारणा उहाँको हुनसक्छ । तर यो निकट भविष्यमा नै जान्छ ।

कांग्रेस त्यो धरातलमा पुगिसक्यो कि त्यसले कहिल्यै पनि सरकार निर्माण गर्न सक्दैन भन्नु भएको हो ?

सक्दैन । कांग्रेसमा जो इमान्दार युवा नेताहरु छन् नि उहाँहरुलाई पनि यो चिन्ताको विषय लाग्न थालेको छ कि शेर बहादुर देउवाको कारणले गर्दा भविष्यमा हामी कहिल्यै पनि सरकारको नेतृत्वमा आउन सक्दैनौँ भनेर । त्यस कारण कांग्रेसभित्र पनि द्वन्द्व र विवाद पैदा भएको छ ।

तर ज्योतिशले त देउवालाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेको छ भनिन्छ नि ?

ज्योतिशको कुरामा विश्वास गर्ने हो भने त देउवा सात पटक प्रधानमन्त्री बन्नलाई यस पटक पनि कांग्रेस पहिलो पार्टी बन्नु पर्ने थियो नि । देखिसक्नु भयो त यसको हालत के छ भनेर । अब कसरी विश्वास गर्ने कि देउवा सात पटक प्रधानमन्त्री हुन्छन् भनेर ।

पछिल्लो समय देउवा सरकारले जे जस्ता निर्णय गरिरहेको छ । त्यसको कार्यान्वयन आउने सरकारबाट गर्न सकिँदैन भन्ने चिन्ता हो वा हामीले गर्नुपर्ने, हामीले जस लिनुपर्ने काम देउवा सरकारले गर्यो भन्ने इश्र्या हो ?

यो कुरा आम जनताले बुझिसकेका छन् । निर्वाचनका बेला नेपाली कांग्रेसको घोषणापत्र पनि जनताको सामू आएकै हो । वाम गठबन्धनको पनि संयुक्त रुपमा आएकै हो । तर कसले के एजेण्डा लिएर आयो भन्ने हो । जनताका हितमा काम गर्ने कांग्रेसको योजना भए उसले प्रतिवद्धतापत्रमा बताउँथ्यो । तर त्यो भएको छैन । अहिले जुन कुराहरु ल्याउँदैछ त्यसले यो देशको अर्थतन्त्रलाई डामाडोल बनाइदिने षड्यन्त्र हो । यसले देशलाई दूरगामी असर पार्छ । त्यसकारण यसमा कांग्रेसको लोकप्रियता बढ्दैन ।

वर्तमान सरकारका यी निर्णलाई नयाँ सरकारले खारेज गरिदिने भन्दै भावी प्रधानमन्त्रीका रुपमा रहेका तपाईको पार्टीका अध्यक्ष केपी ओलीले भन्नु भएको छ । यदि त्यसो गर्ने हो भने कतिपय लोकप्रिय कामका लागि जनताको तर्फबाट विरोध पनि आउला नि । त्यसमा कत्तिको ध्यान दिनुभएको छ ?

यसका बारेमा तपाईले भनेजस्तै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर स्पष्ट पारिसक्नु भएको छ । त्यो के हो भने जुन गलत प्रक्रियाबाट भएका गलत निर्णयहरुलाई खारेज गर्ने भन्नु भएको हो । जनताको हकहितका लागि भएका कामहरु त सरकारले यथावत नै राख्छ । अहिले वृद्धभत्ताका लागि उहाँले उमेर घटाएर ६५ वर्ष पुर्याउनु भएको छ । यस्ता अनैतिक कामहरु गर्नुहुँदैन । मनमोहनको पालामा वृद्धहरुको सम्मानका लागि केही राहत होस् भनेर निर्णय भएको थियो । तर देउवा सरकारले त्यसलाई बजारमा बिकाएर भोट खरिद गर्ने व्यापार सुरु गरेको छ । त्यो सोचाई नै गलत हो भनेर जनताले बुझिसकेका छन् । आउने सरकारलाई अप्ठ्यारो पार्ने, देशलाई कंगाल बनाउने बाहेक अर्को कुरा होइन ।

अहिले वृद्धभत्ताको उमेर मात्रै घटाएको होइन । अनेक किसिमका राजनीतिक नियुक्ति र सरुवा, बढुवा पनि भइराखेका छन् । निर्वाचन सम्पन्न गर्ने मात्रै अधिकार पाएको सरकारले बहुमतको स्थायी सरकारले जस्तो निर्णय गरिरहेको छ । त्यसै हिसाबले अनैतिक किसिमका सुरुवा बढुवा लगायतका अन्य अनैतिक निर्णय आउने सरकारले खारेज गर्छ ।

त्यसका लागि पहिले सरकार बनाउनु पर्छ । देशले नयाँ सरकार बनाउन कती समय लाग्ला ?

सरकार नबन्ने कुरा त छँदैछैन । देउवा सरकारले अलिकती संवैधानिक त्रुटि देखाएर मात्रै लम्बाएको हो । नत्रभने त हामी निर्वाचन सकिएलगत्तै सरकार निर्माण गरिसक्थ्यौँ । अब २४ गते हामी राष्ट्रियसभाको निर्वाचन गर्दैछौँ । त्यसपछि हामी सरकार निर्माणतिर लाग्छौँ । आवश्यक पर्यो भने मधेशवादी दलहरु लिएर हामी दुई तिहाई बहुमतका साथ सरकार बनाउछौँ ।

राष्ट्रियसभाको उम्मेदवार चयनको विषयलाई लिएर पार्टीमा केही आलोचना पनि भएका छन् । यसलाई तपाईले कसरी लिनु भएको छ ?

यो स्वभाविक हो । जसले राम्रो काम गर्न खोज्छ, उसलाई जस र अपजस दुबै आउँछ । यति ठूलो पार्टीमा केही मतभेद आउनु कुनै सामान्य कुरा हो । तर पनि पार्टीमा लामो समय योगदान दिएकाहरुलाई पनि समेटेको भए अझ राम्रो हुन्थ्यो । तर पनि ठिकै छ ।

अब प्रदेश मुख्यमन्त्रीको पनि कुरा गरौँ । एमाले र माओवादीले त्यसका लागि भागवण्डा गरेका छन् । एमालेले पाउने मुख्यमन्त्रीमा उम्मेदवारको टुंगो कसरी लाग्छ ? फेरि मुख्यमन्त्रीको नाम पनि अलि चर्चामा छ । तपाई कुन भूमिकामा आउनुहुन्छ ? 

भागवण्डा अनुसार ६ र ७ मा माओवादी केन्द्र र अन्यमा एमालेले सरकार निर्मार्ण गर्ने भन्ने सहमती भएको छ । त्यसमध्ये पनि प्रदेश नं ५ मा त शंकर पोखरेल हुने लगभग टुंगो लागि सकेको छ । अन्य नमिलेको ठाउँमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचनका माध्यामबाट चयन हुन्छ । जहाँसम्म मेरो व्यक्तिगत कुरा छ । भुमिगतकालदेखि नै म कम्युनिस्टमा लागेको मानिस हुँ । संसदीय हिसावले पनि म ५१ सालमा गिरिजा प्रसाद कोइरालासंग चुनाव लडेँ, उहाँले पनि त्यो निर्वाचन क्षेत्र छोडेपछि उप निर्वाचनमा मैँले जितेको हुँ । त्यस कारण अहिले प्रदेश नं १ मा रहेका सबै प्रदेश सदस्यमध्ये सबैभन्दा सुनियर म हुँ । अर्को कुुरा म मधेशबाट प्रतिनिधित्व मात्र गर्दैन, पार्टीको केन्द्रिय सदस्य पनि हुँ । त्यस हिसाबले पनि म मन्त्रीमण्डलमा छुट्छु जस्तो मलाई लाग्दैन ।

यसमा कुन मन्त्रालयमा काम गर्ने तपाईको इच्छा छ ?

संविधानले तोकेको भन्दा पनि सानो मन्त्रीमण्डल बनाएर जाउ भन्ने छ । देश विकासको लागि मन्त्रीमण्डल ठूलै हुनुपर्छ भन्ने छैन । उदाहरण हामी मनमोहन भट्टराई नेतृत्वको सरकारलाई लिनसक्छौँ । प्रदेश नं एकमा मन्त्रालयको संख्या १०–१२ भएपछि त्यसमध्ये एउटा मैले पनि पाउँछु भन्ने लागेको छ । तर यसमा मेरो छलफल भने भएको छैन । मैँले यही मन्त्रालय चाहियो भनेर भनेको पनि छैन । तर भने पार्टीले आँकलन गरेर मलाई जिम्मेवारी दिन्छ भन्ने लाग्छ ।

प्रदेश नं १ मा वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्दैछ । तपाईहरुले निर्वाचन अघि धेरै सपना बाँड्नु भएको थियो । ती सपनालाई कार्यान्वयनको तहमा पुर्याएर पाँच वर्षपछि फर्किँदै गर्दा एक नं. प्रदेशलाई कस्तो बनाएर छाड्नु हुन्छ ?

अहिले एक नम्बर प्रदेश भनेर हाम्रो प्रदेशलाई चिनिन्छ । प्रदेशको नामाङ्कन गर्ने, प्रदेशको राजधानी तोक्ने कुरा आफ्नो ठाउँमा छ । तर हामी नामको हिसाबले पनि एक नम्बर र कामको हिसाबले पनि एक नम्बर नै बनाउने हाम्रो योजना छ । अर्को कुरा भौतिक संरचनाको हिसाबले, स्रोत साधनको हिसाबले पनि एक नम्बर प्रदेश त्यसै राम्रो प्रदेश हो । त्यसका लागि हामीले इमान्दारीका साथ भूमिका खेलिदियौँ भने कामको हिसाबले पनि एक नम्बर प्रदेश हुन्छ ।