काठकाडौँ – सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनका शीर्ष नेताहरुको उपस्थीतिमा उक्त साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्न साझा कार्यक्रम ल्याइएको गठबन्धनले जनाएको छ ।

त्यस्तै युवाहरुमा प्रकट नैराश्यता, आक्रोस र नकारात्मक सोंचमा परिवर्तन गरी सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धीको रक्षा गर्न, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न प्रतिवद्धत रहेको सत्ता गठबन्धनले जनाएको छ ।

पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमाअर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिने उल्लेख छ । त्यस्तैवित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।

सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्ने, सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, सुशासन प्रवद्र्धन गर्न, व्यावसायिक वातावरण निर्माणमा असहज र असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गरिने उनले बताए । अख्तियारजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गर्ने र भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडी बढाइने पौडेलले बताए ।

त्यस्तै न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिगतका अनुभवबाट शिक्षा लिएर परिणाम निकाल्ने गरी साझा कार्यक्रम तय गरिएको बताए । उनले साझा कार्यक्रमलाई कार्यान्वयन गर्न तत्परता जरुरी रहेको धारणा राखे । नीति र कार्यक्रम भाषामा भन्दा जनतामाझ लैजाने कुरालाई महत्व दिइने उहाले बताए । प्रधानमन्त्री प्रचण्डले जनतामा नयाँ आशा भरोषा जगाउने बाहेक कुनै बिकल्प नरहेको भन्दै यसबाट पनि जनतामा भरोषा दिलाउन नसके देश ठूलो संकटमा जाने जिकिर गरे । उनले नयाँ समिकरण आफ्नो पदका कारण नभई देश र जनताका लागि बनेको दाबी गरे ।

शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने । पीडितलाई केन्द्रमा राखी तथ्यको आधारमा सत्य स्थापित गर्ने र सत्यको आधारमा न्याय, क्षतिपूर्ति, परिपुरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाको सम्बोधन गर्ने विषयलाई पनि साझा कार्यक्रममा समावेश गरिएको छ भने नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षालाई केन्द्रबिन्दूमा राख्ने उल्लेख गरिएको छ । सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन् ।