म्याग्दी – चिटिक्क परेका ढुङ्गे घर । फराकिला आँगन । गाउँको बीचैमा सुविधा सम्पन्न मोटरबाटो । गाउँकै मुनि पायक परेको धानखेत । माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय । स्वास्थ्यचौकी र घरघरमा पुगेको छ इन्टरनेट । झट्ट हेर्दा लोभलाग्दो देखिने धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ ।


ADVERTISEMENT


डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवतजावत गर्न गाउँदेखि दुईरतीन दिन पैदलयात्रा गर्नुपर्थ्यो । एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपर्थ्यो ।


ADVERTISEMENT

# # #


अहिले त्यस्तो छैन । विकासका पूर्वाधार गाउँमा पुगेका छन् । तर गाउँमा युवा छैनन् । अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन् । “डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौँ,” धौलागिरि गाउँपालिका–३ मुदीका ६९ वर्षीय टेकबहादुर भण्डारीले भने, “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ । अहिले विकास त आयो तर यो मर्ने बेलामा हरियो काँक्रो जस्तो मात्र भयो ।”

गाउँमा खरले छाएका घर कमै देखिन्छन् । गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ । अक्करे भीर फोडेर खनेका सडकमा मोटर गुडेका छन् । तर गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन । गएको दुई वर्षमा मुना गाउँका ३१ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बुढाले बताइन् । गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको तर, युवा नहुँदा गाउँ शून्य भएको उनको अनुभव छ ।

यस्तो अवस्था मुना गाउँको मात्रै होइन । जिल्लाका ६ वटै स्थानीय तहमा उस्तै छ । एक लाख १४ हजार जनसङ्ख्या रहेको म्याग्दीमा साबिकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा बाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ ।

विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवन शैलीमा परिवर्तन देखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । विशेष गरी पश्चिम म्याग्दीमा धेरै युवा पलायन भएका छन् । मालिका गाउँपालिका–१ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरू अवैध बाटो भएर अमेरिका पुगेका छन् ।

सहरमा झैँ गाउँमा विकास पुगे पनि गाउँमै रोजगारीको अभावले गर्दा युवाविहीन भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । रासस