काठमाडौँ– नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले जीबी राईलाई मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न कठिन भएको बताएका छन् ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा उनले इन्टरपोलमार्फत् रेड नोटिस जारी हुँदा पनि मलेसिया सरकारको असहयोगका कारण पक्राउ गर्न नसकिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जीबी राईलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा गृहमन्त्रीले समेत तत्परता देखाएको जिकिर गरे । महानिरीक्षक कुँवरले सहकारीसँग जोडिएका गृहमन्त्री रवि लामिछाने बिषयमा बिभिन्न कोणबाट बहस भएपनि अहिलेसम्म कुनै प्रमाण फेला पर्न नसकेको दाबी गरे ।

त्यस्तै महानिरीक्षक कुँवरले पीएसओ र गाडी छोडेर हिँडेपछि शंका उत्पन्न भएकाले माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको स्पष्ट पारे । उनले यस विषयका कुनै दवाव र प्रभावमा नपरेको भन्दै अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए ।

कांग्रेस सांसद विनोद चौधरीको पासपोर्ट सिज नगरिएको र एक दिनमा नै बयान सकिने भएकाले प्रक्राउ नगरिएको उनले स्पष्ट पारे । बयान लिँदा व्यक्तिगत स्वतन्त्रताको अतिक्रमण हुने भएकाले बयानका विषयमा संसदमा जानकारी गराएको कुँवरको भनाई छ । किर्ते मुद्दामा अनुसन्धान जारी रहेको उनले सुनाए ।