काठमाडौं-संघीय समाजवादी फोरम नेपालले मधेशको एजेण्डामा एमाले सकारात्मक भए आगामी सरकारमा सहभागी हुने संकेत गरेको छ ।


ADVERTISEMENT


बाम गठबन्धनका तर्फबाट एमाले नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य जारी रहेको बेला फोरम नेपालले केन्द्रीय सरकारमा सहभागी हुने संकेत गरेको हो । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमालेले अनौपचारिक रुपमा सरकार निर्माणमा सहयोगका लागि आग्रह गरेपनि औपचारिक छलफल भने हुन नसकेको बताएका छन् ।


ADVERTISEMENT

# # #


औपचारिक छलफल भए आफुहरुको एजेण्डा स्पष्ट राख्ने उनले उल्लेख गरेका छन् । उनले भने, ‘सरकार गठनका लागी एमाले नेतृत्व आफुहरुको एजेण्डामा सकारात्मक भए सरकारमा सामेल हुन्छौँ, तर त्यसका लागी एमालेले पहल गर्नुपर्‍यो ।’ नयाँ सरकार गठनका लागी एमालेले स्पष्ट प्रतिबद्धता जनाए आफुहरु सरकारमा सहभागी हुने भन्दै सहअध्यक्ष श्रेष्ठले त्यसो नभए प्रतिपक्षी भुमिकामै बस्ने स्पष्ट पारेका छन् ।

तर सत्ता समिकरण बदलिने अबस्था आए त्यसबारे फरक निर्णय गर्ने श्रेष्ठको भनाई थियो । प्रादेशीक सरकार गठनका लागी राष्ट्रिय जनता पार्टीसँग छलफल भईरहेको भन्दै उनले केहीदिन भित्रै त्यसको टुंगो लाग्ने उल्लेख गरेका छन् । २ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागी पार्टी भित्र धेरै आकांक्षी देखिएपनि आपसी समझदारीमै मुख्य मन्त्री चयन हुने उनको दाबी थियो ।

फोरम र राजपाबीचको पूर्व सहमति अनुसार नै ठुलो दलको हैसियतले आफ्नो पार्टीको भागमा मुख्यमन्त्री परेको श्रेष्ठको जीकिर छ ।