काठमाडौं(रासस)-माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो ।


ADVERTISEMENT


उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘अब दुई/तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित भएका थिए । बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद छन् ।

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ । त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली कांग्रेसले पनि आवश्यकता अनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ ।

डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताए । ‘पार्टीले सातवटै प्रदेशमा केन्द्रबाट नेता खटाएको छ ।’ सांसद मल्लले भने, ‘छलफल गर्छौं र आवश्यताअनुसार निर्णय लिन्छौँ ।’ प्रदेश नं ७ मा काँग्रेसबाट चार निर्वाचित र आठ समानुपातिक गरी १२ सांसद छन् ।

प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहेकी मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरु निर्णय लिन छलफल गर्ने बताए । त्रिपन्नजना सांसद रहेको प्रदेश नं ७ मा नेकपा (एमाले) का २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् ।