काठमाडौं-नेपालका‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन–अन–वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारे खर्च भयो ।


ADVERTISEMENT


ओली र स्वराज दुवै मिर्गौला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो । भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो ।


ADVERTISEMENT

# # #


भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने यो पंक्तिकारको जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने,‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन–जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’

के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’

घटनाक्रमसँग नजिकबाट जानकार एक एमाले सूत्रका अनुसार अध्यक्ष ओली र अन्य नेतागणसँग भारतीय विदेशमन्त्री स्वराजको खुला, स्पष्ट र हार्दिक कुराकानी भएको छ ।-आजको अन्नपुर्ण पोस्टबाट