काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको हो ।


ADVERTISEMENT


प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना बढेपछि केही दिन छिटो दिन आयोगले निर्देशिका संशोधन गरेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारी छ ।


ADVERTISEMENT

# # #


निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रतिनिधिसभाको परिणाम कसरी छिटो दिन सकिन्छ भन्ने उपाय निकाल्ने क्रममा निर्देशिका संशोधन गरिएको बताए । ‘संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभा निर्वाचन परिणाम दिन राष्ट्रिय सभा निर्वाचन पर्खिनुपरेको हो,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचन परिणामपछि द्रुत गतिमा काम गरेर प्रतिनिधिसभाको परिणाम दिने आयोगको तयारी छ ।’

पौडेलले ढिलोमा फागुन ५ गते प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकिने बताए । उनका अनुसार राष्ट्रिय सभाको परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गरिने तयारी छ । दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन् ।

‘आयोग प्रतिनिधिसभाको परिणाम दिन आतुर छ, यसमा दलहरूले पनि सघाउनुपर्छ,’ आयुक्त पौडेलले भने, ‘३ दिनको अवधिभित्र दलहरूले नियमानुसार क्रम आबद्धता र क्लस्टर मिलाएरसूची बुझाए परिणाम अझ छिटो दिन सकिन्छ । सच्याउन समय दिनै पर्दैन ।’

राजनीतिक दलले विजयीको नाम बुझाइसकेपछि नमिलेका विषय मिलाउन फेरि पाउने समयसीमा पनि घटाइएको छ । यसअघि दलले नाम बुझाएपछि आवश्यक अध्ययन गरी आयोगले नमिलेको विषय मिलाउन ३ दिन समय दिने प्रावधानलाई २ दिनमा झारिएको छ । आयोगले समयसीमा घटाउन समानुपातिक निर्वाचन निर्देशिकाको दफा ३४ र ३५ को प्रावधान संशोधन गरिएको छ ।

आयोगले पत्र पठाएपछि सुरुमा ७ दिन र त्यसपछि सच्याउन ३ दिन गरी समानुपातिकबाट विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न दलहरूले १० दिन पाउने प्रावधान रहेकोमा संशोधन गरी ५ दिनमा झारिएको छ ।

प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन भएको दुई महिना भइसक्दासम्म संवैधानिक प्रावधानका कारण आयोगले परिणाम दिन सकेको छैन । सँगै निर्वाचन सम्पन्न भएको प्रदेशसभाका सदस्यहरूले भने काम थालिसकेका छन् ।

राष्ट्रिय सभा निर्वाचन नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम दिन आयोगलाई संवैधानिक र कानुनी जटिलता छ । संघीय संसद्मा प्रत्येक दलले ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त रूप नै संघीय संसद् हो । प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रिय सभामा निर्वाचितबाट ३३ प्रतिशत महिला नपुगे समानुपातिक सूचीबाट पुर्‍याउनुपर्ने प्रावधान छ ।

आयोगले राष्ट्रिय सभाको समेत परिणाम हेरेपछि मात्रै समानुपातिकबाट कुन दलले कति संख्यामा महिला पठाउनुपर्ने हो, तोक्न सक्ने भएकाले प्रतिनिधिसभाको निर्वाचन परिणाम ‘होल्ड’ भएको हो । राष्ट्रिय सभा निर्वाचन माघ २४ लाई तोकिएको छ ।

राष्ट्रिय सभा निर्वाचन परिणामपछि मात्रै आयोगले दलहरूलाई समानुपातिकको सिट संख्या र पठाउनुपर्ने महिला तथा अन्य समावेशी क्लस्टर तोकेर पत्राचार गर्ने हो । निर्वाचन निर्देशिकाको पुरानो प्रावधानअनुसार प्रतिनिधिसभाको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउँदा फागुनको दोस्रो साता लाग्न सक्ने अनुमान गरिएको थियो । तर, अब फागुनको पहिलो साताभित्र परिणाम दिइसक्ने लक्ष्य आयोगले राखेको छ ।