काठमाडौं-भद्रगोल व्यवस्थापनबीच प्रदेश १, २, ५, ६ र ७ मा आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ । बैठकका लागि सबै प्रदेशमा जेनतेन सभाहलको तयारी पूरा भएको छ तर अन्य कुनै पनि संरचना तयार भएका छैनन् । प्रदेश ७ मा प्रदेशसभा बैठकका लागि ५४ वटा कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश २ मा शनिबार रातभर लगाएर हल तयार पारिएको छ ।


ADVERTISEMENT


पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रंगरोगन गरी व्यवस्थित बनाइएको छ । हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विकास तथा भवन निर्माण प्रमुख गंगा यादवले बताएका छन् ।


ADVERTISEMENT

# # #


प्रदेश १ को पहिलो प्रदेशसभा अधिवेशन हुने जिसस भवनमा अवस्थित सभाहलमा शनिबार कुर्सी मिलाएर राखिएको छ । हरियो रङका कुर्सीमा सेतो कभर लगाइएको छ । पंखा, एसी र साउन्ड सिस्टम जडान गरिएको छ ।

सुरक्षालगायत सबै प्रबन्ध मिलाउने काम पूरा भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए । ‘संसद् सचिवालय सिंहदरबारका सचिवज्यू पनि आइसक्नुभएको छ’, उनले भने, ‘प्राविधिक तयारीसमेत लगभग पूरा भएको छ ।’ उनका अनुसार पहिलो अधिवेशनको लाइभ भिडियो सर्वसाधारणले हेर्न पाऊन् भनेर जिसस भवनबाहिर टीभी जडान गर्ने तयारी छ ।

प्रदेश ५ को प्रदेशसभास्थल बुटवल खयरघारीस्थित उद्योग वाणिज्य संघको सभाहललाई संसद् बैठकका लागि सजाइएको छ । बैठक कक्षभित्र अडियो, भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादापालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।