काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् ।


ADVERTISEMENT


पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले प्रदेशका सभामुखलाई पत्र पठाउँदै चौधारीलाई तीन महिनाका लागि निलम्बन गरेको जानकारी गराएकी हुन्।


ADVERTISEMENT

# # #


पार्टीका अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटकपटक बोलाउँदा पनि उपस्थित नभएको र अध्यक्षले पठाएको पत्रको चित्तबुझ्दो जवाफ नदिएकाले निलम्बन गरिएको पत्रमा उल्लेख छ।

‘घनश्याम चौधरीलाई पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक–पटक बोलाइएकोमा पार्टीलाई नै निराश गर्ने गरी बैठकमा उपस्थित नभएको र निजले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गरी पठाइएको स्पष्टीकरण पत्र चितबुझ्दो नभएकाले, नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ धारा १७ (क) को २, ४ र ५ बमोजिम कार्यगरेकोले पार्टीको केन्द्रीय कमिटिको मिति चैत ३० गतेको निर्णय बमोजिम निजलाई तीन महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु,’ सूचनामा भनिएको छ।

केन्द्रीय कमिटीले आज पार्टीको अन्तरिम विधानबमोजिम उनलाई निलम्बन गरेको नागरिक उन्मुक्तिले जनाएको छ। अध्यक्ष श्रेष्ठले चौधरीलाई यसअघि दलको नेताबाट हटाएको पत्र सभामुख भीमबहादुर भण्डारीलाई पठाएकी थिइन्।

प्रदेश सभाले भने संसदीय दलले नै नेता फेरबदल गर्न पाउने भन्दै त्यसलाई मान्यता दिएको छैन।