गोरखा – गोरखाभित्र रहेका थप दुई आधारभूत अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि अनुमति दिइएको छ ।


ADVERTISEMENT


स्वास्थ्य बीमा बोर्डले भीमसेन थापा गाउँपालिका–६ मास्थित सहिद स्मृति आधारभूत अस्पताल र अजिरकोट गाउँपालिका–३ मा भच्चेकस्थित भच्चेक आधारभूत अस्पताललाई स्वास्थ्य बीमा सञ्चालनको अनुमति दिएको हो ।


ADVERTISEMENT

# # #


अनुमति पाएका दुवै अस्पतालले आगामी जेठ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा सुरु गर्ने बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीले जानकारी दिए ।

उक्त सेवा सुरु गर्न सहिद स्मृति आधारभूत अस्पतालले एक वर्ष अघि नै निवेदन दिएको थियो भने भच्चेक अस्पतालले चार महिनाअघि बोर्डमा निवेदन दिएको थियो । योसँगै जिल्ला भित्रका ११ पालिकामध्ये सातवटा पालिकामा स्वास्थ्य बीमा अन्तर्गतका सेवा केन्द्र पुगेको प्रमुख लौडारीले बताए । उनका अनुसार अझै चार वटा पालिकामा स्वास्थ्य बीमाको सेवा केन्द्र स्थापना हुन बाँकी छन् ।

जिल्लाभित्र यसअघि गोरखा अस्पताल र आँपपिपल अस्पताल तथा मकैसिंह प्राथामिक स्वास्थ्य केन्द्र, जौवारी प्राथामिक स्वास्थ्य केन्द्र र आरुचनौटे प्राथामिक स्वास्थ्य केन्द्र गरी पाँचवटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

विसं २०७४ असारदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको गोरखामा अहिलेसम्म एक लाख छ हजार बढी नागरिकले बीमा गराइसकेका प्रमुख लौडारीले जानकारी दिए ।