काठमाडौँ – ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताका समूह चरणमा अविजित रहँदै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराएसँगै नेपाल अपराजित रहँदै सेमिफाइनल पुगेको हो ।


ADVERTISEMENT


ओमानको अल अमेरातस्थित क्रिकेट मैदानमा वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपाललाई जित दिलाउने क्रममा गुल्शन झाले सर्वाधिक ३२ रन बनाए । उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाएर नटआउट रहे । यस्तै दीपेन्द्र सिंह ऐरीले ९ बलमा ३ चौकाको मदतमा १७ रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ इस्तियाक अहमदले सर्वाधिक २ विकेट लिए भने उस्मान नजिव र वाजी उल हसनले समान १–१ विकेट लिए । यसअघि साउदीलाई सम्मनजनक स्कोरतर्फ पुर्याउने क्रममा अब्दुल वाहिदले विष्फोटक ब्याटिङ गरे । उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । यस्तै काशिफ अब्बसले ८ तथा फैसल खानले ६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि अविनाश बोहरा र करण केसीले समान २–२ विकेट लिए । सोक्रममा अविनाशले २ ओभरमा १५ रन खर्चिए भने करणले २ ओभरमा २१ रन दिए । यस्तै ललित राजवंशी र प्रतिश जिसीका नाममा समान १–१ विकेट रह्यो ।

नेपाल यसअघिका ३ वटै खेल जितेर एक खेल अगावै समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरिसकेको थियो । यता नेपालसँगको हारसँगै साउदी प्रतियोगिताबाट बाहिरिएको छ भने समूह ‘ए’बाट हङकङ उपविजेताका रुपमा सेमिफाइनल पुगेको छ ।

एसीसी प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘ए’मा रहेको थियो । जहाँ हङकङ, कतार, मलेसिया र साउदी अरब समेत रहेका छन् । यस्तै समूह ‘बी’मा आयोजक ओमानसहित युएई, बहराइन, कुवेत र कम्बोडिया रहेका छन् ।

विजेता टोली अर्को वर्ष हुने टी–२० एशिया कपका लागि छनोट हुनेछ । यसअघिको विजेता नेपालले उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक एशिया कपमा पुग्ने लक्ष्य राखेको छ ।