काठमाडौँ – नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ ।


ADVERTISEMENT


रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गर्न भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माणको कार्यको थालनी गरिएको हो ।


ADVERTISEMENT

# # #


बुधबार ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्तरूपमा उक्त कार्यको शुभारम्भ गरे ।

रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले निगमले खरिद गरेको १३ दशमलव पाँच बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ । कार्यक्रममा कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै निगमले स्थानीयवासीको चासो सम्बोधन गरिदिनुपर्नेमा जोड दिए ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गनरे । करिब रु तीन अर्ब लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप यादवले जानकारी दिए । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोलिटर क्षमताका तीन, पेट्रोल भण्डारणका लागि एक हजार छ सय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्याङ्क निर्माण गरिने उनले बताए ।

भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो सोही स्थानमा सर्ने निगमले जनाएको छ । भण्डारण डिपोलाई बाढीबाट जोगाउन दुई मिटर अग्लो बाँध निर्माण गरी जमिन पुरिने परियोजना संयोजक यादवले जानकारी दिए । आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उनले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने बताए । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्नेछ । पेट्रोलियम भण्डारण गृह २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।