काठमाडौँ – लगातार दोस्रो पटक एशिया कप क्रिकेट खेल्ने नेपालको सपना अधुरै रहेको छ । ओमानमा जारी एशिया कप छनोटका रुपमा रहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार युएईसँग ६ विकेटले पराजित गरेसँगै नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो । नेपाललाई हराएसँगै युएई प्रतियोगिताको फाइनल पुगेको छ ।


ADVERTISEMENT


ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


युएईलाई जित दिलाउने क्रममा अलिशान सराफुले सर्वाधिक अर्धशतकीय पारी खेले । उनले बलमा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ५५ रन बनाए । यस्तै विष्णु सुकुमारनले २८, शेयद हैदरले १४, कप्तान मोहम्मद वासिमले ११ तथा आशिफ खानले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि गुल्शन झाले सर्वाधिक २ विकेट लिए भने ललित राजवंशी र सोमपाल कामीले समान १–१ विकेट हात पारे । यसअघि नेपालको सुवात नै खराब रह्यो । ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएपछि नेपाल दबाबमा आएको थियो । त्यसपछि आशिफ शेख ८ रनमा आउट भए भने निकै सुस्त ब्याटिङ गरेका रोहितले १८ बलमा मात्रै ५ रन बनाउँदै थप दबाब सिर्जना गरे ।

युएईका विरुद्ध एक्लो पर्खाल बनेका सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्काको मदतमा ५० रन बनाए । यस्तै गुल्शन झाले २० रन जोड्दा करण केसी १७ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्नेक्रममा बलिङतर्फ जुनइद सिद्धिक, अलि नसिर र बासिल हमिदले समान २–२ विकेट लिए । ओमिद सफकि रहमान, आयान खान र मोहम्म फरुकले समान १–१ विकेट हात पारे ।

समूह चरणका सबै खेल जित्दै सेमिफाइनलमा पुगेको नेपाल पुनः एक पटक ओमानी मैदानमा युएईसँग स्तब्ध भएको हो । यसअघि नेपाल सन् २०२२ मा टी–२० विश्वकप छनोटमा समूह विजेता बने पनि सेमिफाइनलमा युएईसँग पराजित भएसँगै विश्वकपमा पुग्न असफल भएको थियो ।

नेपालले अब तेस्रो स्थानका लागि भोलि ओमान र हङकङबीचको खेलको पराजित हुने टोलीसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे नेपाल एसीसी इमर्जिङ एशिया कपका लागि छनोट हुनेछ ।