काठमाडौँ – नेपाली सेनाले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको करिब ३३ प्रतिशत भौतिक र वित्तीय प्रगति भएको जनाएको छ ।


ADVERTISEMENT


सिहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उक्त आयोजनाबारे जानकारी गराउदै सेनाले काठमाडौं–निजगढ द्रुतमार्गको काम चैत्र मसान्तसम्म ३३ प्रतिशत सम्पन्न भएको जनाएको हो । जसमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको प्रधानसेनापति प्रभुराम शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले द्रुतमार्ग पर्ने टनेलहरुको काम पनि अन्तिम चरणमा पुगेको बताए । चन्द्रामभीरको सुरुङका लागि ठेक्का लागिसकेको उनले बताए । आयोजना अन्तर्गत ११ प्याकेजहरु मध्ये १० वटा सम्पन्न भइसकेको पनि उनले जानकारी दिए ।

प्रधानसेनापति शर्माले रुख कटानका लागि वन मन्त्रालयको सहजीकरणमा ३० हजार भन्दा रुख काटिएको र समितिको निर्देशन अनुसार रुख कटानमा देखिएको समस्या समाधान भएको धारणा राखे ।

उनले पूर्वदेखि पश्चिसम्मको चारवटा करिडोर मध्ये कर्णाली करिडोरको काम ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिए । बेनिघाट, आरुघाट, लार्के भन्ज्याङ करिडोरको प्रगति ७० प्रतिशत भइसकेको उनले बताए । उनले दार्चुला–टिङ्करको काम ६७.२ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए ।

प्रधानसेनापति शर्माले सेनाले गरिरहेका विकास निर्माणहरु सहज रुपले अघि बढिरहेको भन्दै निर्देशन गर्नुपर्ने गरी कुनै समस्या नभएको बताए । बैठकमा समिति सदस्यहरुले बिभिन्न समस्या समाधान गर्दै समयमा नै आयोजनाहरु सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।