काठमाडौं-भूकम्पपीडितले आवास अनुदानको दोस्रो किस्ता लिने म्याद थपिने भएको छ । यसअघि ०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने निजी घरधनीले गत पुस मसान्तमा दोस्रो किस्ता लिइसक्नुपर्ने म्याद रहेकोमा त्यसलाई आगामी चैत मसान्तसम्मका लागि थप्ने तयारी गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उच्च स्रोतले जानकारी दिएको छ । ‘यही २६ माघमा बस्ने प्राधिकरण निर्देशक समितिको बैठकले यससम्बन्धी निर्णय गर्नेछ,’ स्रोतले भन्यो ।


ADVERTISEMENT


यसअघि ०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले पुस मसान्तभित्र दोस्रो किस्ता र जेठ ०७५ भित्र तेस्रो किस्ता लिइसक्नुपर्ने म्याद तोकिएको थियो । तर, पुनर्निर्माणमा जनशक्तिको अभाव, सरकारी प्राविधिक गाउँमा नहुने समस्यालगायतले धेरै भूकम्पपीडितले घर बनाउन सुरु नै गर्न पाएका छैनन् ।


ADVERTISEMENT

# # #


‘यस्तो अवस्थामा म्याद नथप्ने हो भने अधिकांश भूकम्पपीडितले अनुदान नै पाउन नसक्ने स्थिति भएपछि म्याद थप्ने तयारी गरिएको हो,’ ती अधिकारीले भने । प्राधिकरणका अनुसार पहिलो किस्ता बुझिसकेका र घर पुनर्निर्माण डिपिसी तहसम्म पुर्याएका लाभग्राहीले दोस्रो किस्ता प्राप्त गर्न सक्छन् । त्यसका लागि स्थानीय तहमा खटिएका प्राविधिकसँग जाँच गराई सिफारिस लिनुपर्छ । तेस्रो किस्ता लिनका लागि भने घर निर्माण सम्पन्न गर्नुपर्छ ।

यो आर्थिक वर्षभित्र सबै घर निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि त्यो सम्भव नरहेको प्राधिकरणको उच्च स्रोतको भनाइ छ । ‘माघ महिनाभित्र ३ लाख बन्दै गरेका हुनेछन् र १ लाख बनिसकेका हुनेछन् भन्ने लक्ष्य हाम्रो हो,’ त्यो लक्ष्य प्राप्तिलाई पनि ध्यानमा राखिनेछ ।

२६ गतेको निर्देशक समितिको बैठकमा अहिले तत्काल अड्किएका समस्या समाधानलाई प्राथमिकतामा राखिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । ‘पुस मसान्तमा सबै लाभग्राहीले विभिन्न कारणले दोस्रो किस्ताको रकम लिन पाएका छैनन् । त्यस्तै, गत कात्तिक मसान्तसम्म पहिलो किस्ता लिनेले चैत मसान्तभित्र दोस्रो किस्ता लिनुपर्ने म्याद छ, यी विषयलाई के गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ उनले भने ।

किस्ता वितरणमा सहजीकरण गर्न बैंकहरूलाई निर्देशन
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जनतालाई अनुदानस्वरूप दिइने रकम लाभग्राहीले पाउने व्यवस्थालाई सहजीकरण गरिदिन निर्देशन दिएको छ । आइतबार प्राधिकरणमा बैंकर्स संघ तथा विभिन्न बैंकका प्रतिनिधि बोलाएर प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

‘अहिले केही किस्ता वितरणमा समस्या आएको विषय पनि आएको छ, त्यसलाई समाधान गर्न र आगामी दिनमा दोस्रो र तेस्रो किस्ता वितरणमा सहजीकरण गर्न भन्यौँ,’ भुसालले भने ।

भूकम्पपीडितलाई रकम दिने कुरामा आफूहरूले सहज र सरल तरिकाले काम गर्ने बैंकरहरूलाई उद्धिृत गर्दै उनले बताए । साथै, कुन लाभग्राहीलाई कहिले अनुदान भुक्तानी गरियो, त्यसको तथ्यांक अद्यावधिक रूपमा दिन पनि प्राधिकरणले बैंकरहरूलाई भनेको छ । – आजको नयाँ पत्रिकाबाट