पर्वत – आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् ।


ADVERTISEMENT


पराजुलीले गत ५ माघमा बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए । तर, मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो ।


ADVERTISEMENT

# # #


माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन् । पराजुलीले कमला शर्मालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने साबिती बयान दिएका थिए ।

उनले कमलासँग आफूले शारीरिक सम्बन्ध राखेको र गर्भ रहेको थाहा पाएपछि हत्या गरेको बताए ।

अभियुक्त पराजुलीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसन्धानका लागि पठाइएकामा प्रारम्भिक अनुसन्धानपश्चात् उक्त घटना पर्वतको साबिक बर्राचौर गाविस–२ हाल विहादी गाउँपालिका–२ बगरस्थित बाँझो खेतमा घटेको पुष्टि भएपछि उक्त मुद्दा दर्ता गर्ने र अनुसन्धान गर्ने क्षेत्राधिकार जिल्ला प्रहरी कार्यालय पर्वतको पर्ने भएको पर्वत प्रहरीमा पठाइएको हो ।

पराजुलीलाई पर्वत प्रहरीको हिरासतमा राखी बयान तथा अन्य थप अनुसन्धानको म्याद थप गरिएको छ ।

प्रहरी हिरासतमा राख्नका लागि शनिबारदेखि लागू हुने गरी दोस्रो पटक १० दिनको को म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।