काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् ।


ADVERTISEMENT


सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उनको भनाइ छ । उनले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी एि ।

उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर रूपले लागिरहेको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताइन् । उनले सूचनाप्रविधिमार्फत घरमै बसेर अधिकांश सरकारी सेवा लिने सक्ने गरि काम सुरु भइसकेको जानकारी दिइन् । शर्माले सूचना प्रविधि आर्थिक समृद्धिको आधारको रुपमा बिकसित हुदै गएको धारणा राखिन् ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको हो ।