काठमाडौँ– राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालको राजीनामा दिएका छन् ।
एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध असन्तुष्टि प्रकट गरेपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिइन् ।
‘देश सञ्चार’ लाई गत २३ वैशाखमा दिएको अन्तर्वार्तामा नेपालले भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’
यसैगरी, २४ वैशाखमा बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रबैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई लहडको संज्ञा दिएका थिए ।
सत्तारुढ दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सल्लाहकारको अभिव्यक्तिबारे राष्ट्रपति र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आलोचना गरेका थिए ।