काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलको गठबन्धन लम्वाउन पार्टीविभाजनसम्मको कसरत भएको बताएका छन् ।
मंगलबार ललितपुरमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन लम्वाउन नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी गरेका हुन् । सबै पार्टीभित्र अन्तरविरोध गरेर गठबन्धनमा आफ्नो शक्ति स्थापित गर्न खोज्ने प्रयास भएको उनले बताए । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकाल्ने षडयन्त्रसम्म भएको अध्यक्ष नेपालले बताए ।
उनले आफ्नो पार्टीका सन्दर्भमा पनि फुटको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको धारणा राखे । उनले राष्ट्रिय राजनीतिमा अहिले नै के हुन्छ भन्ने निश्चित नरहेको अवस्थामा सवै बिषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने जिकिर गरे । मुलुकको राजनीतिक घटनाक्रमहरु आफुहरुले पत्रपत्रिकाबाट जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई वेवास्ता गर्ने सोच्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
दुई दिनसम्म चल्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीत कमिटी बैठकले महाधिवेशनमा पेश हुने विभिन्न चारवटा दस्तावेजमाथि छलफल गर्दै पारित गर्ने तयारी गरेको छ ।