काठमाडौ-ताइवानमा मंगलबार राति ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट हुआलिन शहरका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । कैयौं होटलहरु ढलेका छन् । स्थानीय प्रशासनले राहत र बचाउ कार्य जारी राखेको छ ।


ADVERTISEMENT


भूकम्पमा परेर हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले लेखेको छ । स्थानीय मिडियाहरुले अग्ला होटलहरु भूकम्पको कारण ढलेका, पुलहरु भाँचिएका दृष्य प्रसारण गरेका छन् । मार्शल होटलको भुइँतलामा कयौं मानिस थिचिएको बताइएको छ । स्थानीयको सहयोगमा राहत र बचाउ कार्य जारी राखिएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार यस भूकम्पको केन्द्र ताइवानको हुआलिन काउन्टी हो ।

अनौठो संयोग, दुई वर्षपछिको भूकम्प उही दिन, उही तीव्रता

मंगलबार आएको भूकम्पभन्दा ठीक दुई वर्ष अघि ६ फेब्रुअरीमा पनि ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसमा ११७ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको केन्द्र ताइवानको दक्षिणी शहर ताइनान थियो । त्यतिबेला गोल्डन ड्रागन अपार्टमेन्ट भत्किएको थियो । १७ तले यो अपार्टमेन्टमा २५६ फ्लाट बनाइएको थियो । ताइवानमा तीन दिनको अवधिमा यो दोस्रो पटक भूकम्प गएको हो । आइतबार ताइवानमै ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ताइवान दुई टेक्टानिक प्लेटोको बीचमा रहेकाले यहाँ भूकम्प आइरहने भूगर्भविदहरु बताउँछन् । ताइवानको राजधानी ताइपेह हो । यो देशको वित्तिय केन्द्र पनि हो र यो शहर देशको उत्तरी भागमा पर्दछ । यसको आधिकारिक नाम भने ‘रिपब्लिक अफ चाइना’ हो । ताइवान चीनको समुद्री सीमाबाट मात्र एक सय मिल टाढा छ ।