काठमाडौँ– शिक्षामन्त्री सुमना श्रेष्ठले गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंसँग भेट गरेकी छन् ।
माईतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका चापागाईंसँग शिक्षामन्त्री श्रेष्ठले प्रदर्शनस्थलमै पुगेर आइतबार भेट गरेकी हुन् ।
आन्दोलनरत चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र कर्मचारीलाई तालिम दिनुपर्ने, विद्यालयको बजेटमार्फत सिकाई सामग्रीको ग्यारेन्टी गर्नुपर्ने र कुन सरकारले आधारभूत तहको शिक्षा हेर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्ने आफ्नो माग रहेको शिक्षामन्त्रीलाई बताए ।
जवाफमा मन्त्री श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदातालाई शिक्षण अनुमति पत्रसम्बन्धि उनको माग जायज भएको भन्दै आवश्यक रहेको बताए । उनले अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि उल्लेख गरे ।
‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ भन्नुभयो,’ प्रदर्शनस्थलमा रहेकी नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराईले भनिन् ।
चापागाईं विगत ५ दिनदेखि ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने मुख्य नाराका साथ प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे मागसहित धर्ना दिदैँ आएका छन् ।