काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति सावर्जजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार गृहमन्त्री लामिछानेको अधिकांश सम्पत्ति श्रीमती निकिता पौडेको नाममा रहेको पाइएको छ । जस अनुसार गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको छ । जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको उल्लेख गरिएको छ । यसबाहेक सबै सम्पत्ति श्रीमतीको नाममा रहेको गृहमन्त्रीले उल्लेख गरेका छन् ।
लामिछानेपत्नी श्रीमती निकिताको नाममा काठमाडौँको बूढानीलकण्ठमा ५ आनामा फैलिएको घर रहेको छ । जुन विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ । यस्तै चाबहिलमा १० रोपनी जग्गा निकिताको पारिवारिक सगोलमा रहेको जनाइएको छ ।
यस्तै निकिताको नाममा करिब ८० तोला सुन र १५–२० किलो चाँदीका भाँडाकुँडा रहेको उल्लेख छ । जुन आमाबुवाबाट प्राप्त भएको र केही खरिद गरेको जनाइएको छ । यस्तै गृहमन्त्री लामिछानेको नाममा ग्लोबल आईएमई बैँकमा रहेको खातामा ५ हजार रुपैयँ रहेको र नेपाल बैँक लिमिटेडमा रहेको खातामा १ लाख ५ हजार रुपैयाँ रहेको बताइएको छ ।
यस्तै लामिछानेपत्नी निकिताको नाममा विभिन्न बैँकमा ५ लाख ५३ हजार बढी रुपैयाँ नगद रहेको छ ।
निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ । ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा कार खरिद गरेको भनिएको छ । निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक रहेको र त्यसको मूल्य क्रमशः ३ करोड रुपैयाँ र १ करोड रुपैयाँ रहेको जनाइएको छ ।


























































