काठमाडौँ – श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालले काठमाडौं महानगरले आयोजना गरेको सिप मेला उदाहरणीय काम भएको बताएका छन् ।
बुधबार काठमाडौंमा महानगरले आयोजना गरेको सिप मेलाको अवलोकन गर्दै मन्त्री अर्यालले स्वदेशमा नै रोजगारी सिर्जना गर्नका लागि आयोजना गरिएको मेला उदाहरणीय काम भएको बताएका हुन् । उनले देशभरका सबै पालिकामा स्थानीय आवश्यकता अनुसार सिप सिकाउन सके विदेश जाने लहर रोक्न सकिने धारणा राखे ।
यस्ता सिप मेलाले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । उनले सरकारले आयोजना गर्न लागेको श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्थाको पुलको काम गर्ने बताए ।


























































