सर्लाही – मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ । घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ । यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा चिनिएकी छिन् ।


ADVERTISEMENT


हरिवन नगरपालिका–४ गेल्हा निवासी ३२ वर्षीया निर्मलाकुमारी महतो मधेसकै एक उदाहरणीय महिला उद्यमी बनेकी छिन् । जुत्ता उद्योग सञ्चालन गरेकी उनी आफूलाई अब्बल व्यवसायीका रूपमा चिनाउने कोसिसमा छन् ।


ADVERTISEMENT

# # #


मधेसमा जन्मिएकी उनका लागि एउटी बुहारी भएर जुत्ता सिलाउँछु, भन्नु पक्कै सजिलो थिएन । ‘प्लस टु’ सम्म अध्ययन गरेकी निर्मलाको माइतीघर घरदेखि केही मिनेटको दूरीमा छ । बुबा शिक्षक भएका कारण उनले पढ्ने अवसर पाइन् । त्यसपछि गाउँ नजिकैका मध्यमवर्गीय परिवारका उमेश महतोसँग सामाजिक परम्पराअनुसार विवाह भयो ।

विवाहपछि पढाइलाई निरन्तरता दिन पाएनन् । निर्मलाका ११ वर्षकी एक छोरी, नौ र छ वर्षका दुई छोरा छन् । ‘श्रीमान् खेतीपाती गर्नुहुन्थ्यो’, उनले भने, ‘खेतीबाट नगद आम्दानी कम हुन्थ्यो । अन्नपात वर्षभरि खानुपर्‍यो। समाजमा चलेको चलनअनुसार व्यवहार धान्नै चुनौती भयो ।’

अरुले बच्चा बोर्डिङ स्कुलमा पढाएको देखेर आफूलाई पनि रहर लागेर भर्ना गरेको उनको भनाइ छ । पछि ‘बिल’ आउन थालेपछि समस्या हुन थाल्यो ।श्रीमान्सँग सधैँ पैसा हुन्न थियो । त्यसपछि कसरी पैसा तिर्ने भन्ने चिन्ताले सताउन थाल्यो ।

धेरथोर पढेलेखेको भएकाले केही जागिर गरेर कमाई हुन्थ्यो कि भनेर पनि सोच्नुभयो तर त्यस्तो हुन सकेन ।

गाउँमा आफूले चिनेको सरले जुत्ता सिलाउने तालिम खुलेको जानकारी पाएपछि सिक्न जान थालिन् । सुरुमा घरमा सम्झाउन निकै समस्या भयो । बुहारी त्यसमा पनि जुत्ता सिलाउन गई, भनेर सासूससुराले गाली खाइन् उनले । तर पछि सम्झाइबुझाइ गरेपछि परिवारले कुरा बुझ्यो । ‘तीन महिना सीप सिकेर काम सुरु गरेको थिएँ । काम गरेको साहुले पसल बन्द गरेर हिँडे, त्यसपछि फेरि अलपत्र परियो, तालिमसमेत पूरा भएको थिएन’, उनले विगत सुनाइन् ।

तालिम आयोजकलाई फेरि अनुरोध गरेर केही दिनका तालिम थप्न लगाइन् । त्यसपश्चात् आफूले भने जस्तै सबै नाप र आकारप्रकारका जुत्ता बनाउनसक्ने भइन् उनी । सीप त सिकन् तर काम गर्ने ठाउँ भएन । त्यसपछि निर्मला आफैँले गेल्हागाउँमै जुत्ता बनाएर बेच्न सुरु गरिन् ।

व्यवसायका लागि सुरुमा लगानी आवश्यक भयो । श्रीमान् खेतीकिसानी गर्ने मान्छे । सासूससुरा पहिलादेखि पेसाप्रति खुसी थिएनन् । एक लाख ऋणका लागि हारगुहार गर्दा पनि पार लागेन । माइतीका दाजुलाई भनेर ससुरालाई सम्झाइबुझाइ गरी बरु अंश दिँदा घटाइदिनु भनेर रु एक लाख पैसा मागिदिन अनुरोध गरिन् । ससुराले एक लाख २० हजार रुपैयाँ दिए ।

‘त्यसपछि घरमै जुत्ता कारखाना सुरु गरेँ’, निर्मलाले भनिन्, ‘ सुरुमा गाउँमा अनेक कुरा गर्ने मानिस धेरै भए तर पछि विस्तारै आफ्नो छोराछोरीलाई सिकाइदिनुपर्‍यो भनेर आउने पनि निस्किए ।’

गाउँघरमा आजभोलि विवाहलगायत कार्यक्रममा निर्मलाले बनाएको जुत्ता धेरै बिक्री हुन्छ । बजार विस्तार हुँदै गएको छ । रामेछाप, सिन्धुली, विराटनगर, जनकपुर, चपुरलगायत ठाउँबाट जुत्ता माग आउने गरेको निर्मलाले बताइन् ।

विसं २०७१ तिर निर्मलाको श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । तर, निर्मलाले छ ११ महिनामै श्रीमान्लाई घर फर्काइन् । अहिले उनको श्रीमान् उमेश पनि निर्मलासँगै काममा खटिएका छन् । उनले घर नजिकै १४ लाखमा आधुनिक उपकरणसहितको जुत्ता कारखाना सञ्चालन गरेका छन् । उद्योगमा चार जना कामदारसमेत छन् ।

एक जनाले दैनिक ५० जोर जुत्ता तयार गर्न सक्ने उनले बताइन् । यसरी निर्मलाको कारखानाबाट महिनामा ६ हजार जोरसम्म जुत्ता उत्पादन भई बजारमा पुग्ने गरेको छ ।’कमाइ राम्रो हुन्छ’, उनले भनिन्, ‘काम दिन सकिरहेका छैनौँ । अझै केही मेसिन किन्नुपर्ने छ, त्यो भए काम बढाउन सकिन्थ्यो । प्रयास गरिरहेको छु ।’

पहिला मासिक रु तीन हजार पाँच सय कमाइहुन्छ भनेर सिकेको सीपले उद्यमी बनाएको उनको भनाइ छ । यही पेसाबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म कमाउने गरेको उनले बताइन् ।