काठमाडौँ–नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गरिने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सुरक्षाकर्मीहरुको अवकाशको उमेर हदलाई पुनरावलोकन गर्ने उल्लेख छ । बजेटमा भएको सोही व्यवस्था अनुसार गृह मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो ।
यसका लागि गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका छन् ।
कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव रहने बताइएको छ ।
समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
नेपाल प्रहरीको अवकाशको उमेर हद पद अनुसार फरक फरक छ । निजामती कर्मचारीको उमेरहद भने हाल ५८ वर्ष तोकिएको छ ।


























































