काठमाडौँ – काठमाडौँस्थित अमेरिकी राजदूतावासले नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेलाडी सन्दीप लामिछानेलाई भिसा दिन फेरि पनि अस्वीकार गरेको छ । गत साता अमेरिकाको भिसा अस्वीकृत भएपछि सन्दीपले भिसाका लागि पुनः निवेदन दिएका थिए ।
सोही अनुसार दूतावासले सन्दीपलाई आज अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, अन्तर्वार्तापछि दूतावासले फेरि पनि भिसा दिन अस्वीकार गरेको हो । यसअघि सन्दीपले भिसा पाउनुपर्ने भन्दै केही समर्थकले प्रदर्शन गरेका थिए भने सरकारले समेत भिसाका लागि सहजीकरण गरिदिन भन्दै अमेरिकी राजदूतावासलाई पत्राचार गरेको थियो ।
तर दोस्रो पटक भिसा अस्वीकृत भएसँगै आगामी जुन १ देखि अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सन्दीवको सहभागिता थप कठिन बनेको छ ।
नाबालिका बलात्कारको अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले जेठ पहिलो साता सफाइ दिएको थियो । सफाई पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकप टोलीमा समावेश गर्न निलम्बन फुकुवा गरेको थियो भने आईसीसीबाट स्वीकृति समेत लिएको थियो ।
तर, अमेरिकाको भिसा नपाएपछि सन्दीपको यात्रा रोकिएको छ ।