काठमाडौं-एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो ।


ADVERTISEMENT


१ र ३ मा कडा प्रतिस्पर्धा, ४ मा खगराज निर्णायक


ADVERTISEMENT

# # #


प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धीका रूपमा दलको नेता बन्ने अन्तिम कसरतमा छन् ।

९३ सिटमध्ये प्रदेश सभामा ५१ सिट जितेको एमालेले संसदीय दलमा केन्द्रीय समीकरणअनुसार आचार्य नेता माधवकुमार नेपाल र राई संस्थापन पक्षबाट उम्मेदवार बन्दै छन् । आचार्यलाई वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको पनि साथ रहेकाले अंकगणितमा अगाडि छन् ।

तर, प्रदेश सभा दलमा जनजाति सांसदको बाहुल्य रहेको, नेपाल पक्षबाट अर्का आकांक्षी जीवन घिमिरेले पनि दाबी कायम राखेकाले ‘चुनावी जोडघटाउको पासा’ जता पनि पल्टिन सक्ने अवस्था छ । प्रदेश ३ मा १ सय १० मध्ये एमालेले ५८ सिट जितेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सर्वसम्मतको एजेन्डालाई पहिलो प्राथमिकता राखेर नेपाल पक्षबाट खडा भएकी छिन् ।

पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा जितको दाबीसहित संस्थापनबाट उम्मेदवार बन्ने अन्तिम गृहकार्यमा छन् । चुनावी अंकगणितमा संस्थापन ८ मतले अघि रहे पनि शाक्य प्रदेश प्रमुख, महिला र उपत्यकाबाट प्रतिनिधित्व गर्ने भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

संस्थापनको बहुमत रहेकाले पाण्डे आधिकारिक उम्मेदवार बन्दा जित सहज देखिन्छ । तर, बुधबार बसेको प्रदेश सचिवालय बैठकमा आकांक्षी सानुकुमार श्रेष्ठले दाबी प्रस्तुत नगर्दा शाक्यलाई चुनावी प्रतिस्पर्धाका लागि थप सहज स्थिति बनेको छ ।

‘अध्यक्षसहित शीर्ष नेताहरूलाई सकभर सर्वसम्मत चुनिँदा सकारात्मक सन्देश जाने ध्यानाकर्षण गराइएकाले अझै कोसिस हुन्छ,’ पोलिटब्युरो सदस्य अरुण नेपालले भने, ‘कोसिस सफल भएन भने मात्र शुक्रबार (भोलि) दलको नेता निर्वाचनबाटै चुन्ने गरी बैठक बोलाएका छौँ ।’

प्रदेश ४ को ६० मध्ये एमालेको २७ सिट छ । मुख्यमन्त्रीका लागि दलको नेतामा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङको दाबी रहेको छ । दुवै अहिलेसम्म संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो छ ।

नेपाल पक्ष लगभग शून्यकै अवस्थामा रहेकाले संस्थापनभित्र प्रभावशाली मानिने पोलिटब्युरो सदस्य खगराज अधिकारीले दुईमध्ये जसलाई समर्थन ग¥यो उसैले चुनाव जित्ने सम्भावना बढ्दै गएको स्रोतले जनाएको छ । अधिकारीनिकट ६ देखि ८ सांसद छन् । यद्यपि, दाबेदार दुवै नेताले जितको दाबी गर्दै आएका छन् ।

अन्यमा पनि चुनावकै तयारी, ६ नम्बरमा न्युट्रल निर्णायक

एमालेभित्र प्रदेश २, ६ र ७ मा पनि चुनावकै तयारी भइरहेको छ । २ को दलको नेतामा स्थायी समिति सदस्य सत्यनारायण मण्डल र पोलिटब्युरो सदस्य शत्रुधन महतो, ६ मा प्रकाश ज्वाला र यामलाल कँडेलले दाबी गरेका छन् ।

स्रोतका अनुसार ६ मा दलमा रहेको २० मतमध्ये ज्वाला र कँडलेको पक्षमा ९–९ मत रहेकाले २ न्युट्रल मत तान्ने दुवैले अन्तिम कसरत गरिरहेको छ । प्रदेश ७ मा केन्द्रीय सदस्य प्रकाश शाह, अर्जुन थापा, दीर्घ सोडारी, पठानसिंह बोहरालगायत दलको नेताको आकांक्षी छन् ।

तर, उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावलले जसलाई सहयोग ग¥यो उही नै सर्वसम्मत या चुनावी प्रतिस्पर्धाबाट चुनिने सम्भावना देखिएको एक नेताले बताए । -आजको नयाँ पत्रिकाबाट