काठमाडौँ – नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनतालाई विश्वास दिलाउने गरी बजेटको कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले हरेक वर्ष सार्वजनिक हुने बजेटले जनतामा केही आशा जाग्ने गरे पनि कार्यान्वयन नहुँदा सो आशा निराशमा परिणत हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए । बजेट देशको एक वर्षको योजना र कार्यक्रम भएकोले यस विषयमा निक्कै गम्भीर हुनुपर्ने उनले धारणा राखे ।
उनले आफू नयाँ सांसद् भएकोले जनताहरूको आफूहरू प्रतिको आशा, विश्वास र भरोसा पनि आलो नै भएको बताए । नेम्वाङले अहिलेको समस्या भ्रष्टाचार हो कि, संरचनागत त्रुटी हो वा राजनीतिक अस्थिरता हो भन्ने कुराको समीक्षा गर्नुपर्ने बताए ।
उनले आफ्ना पिता सुवास नेम्वाङले देखाएको बाटोलाई अवलम्बन गर्दै देश र जनताका काममा लाग्ने प्रतिवद्धता जनाए । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले मंगलबार पहिलो पटक सदनमा मन्तव्य राखेका हुन् ।


























































