काठमाडौँ – अमेरिका र वेष्ट वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । मंगलबार नेपाल नेदरल्याण्ड्सविरुद्ध ६ विकेटले पराजित भएको हो ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्यो । नेदल्याण्डका बलर अघि निरीह साबित भएको नेपाल १९.२ ओभरमै अलआउट हुँदै १०६ रनमै समेटियो । १०७ रनको सामान्य चुनौती पच्छ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।
सामान्य लक्ष्यमा पनि नेपालले राम्रो बलिङ प्रदर्शन गर्यो । केही अवसर पाए पनि क्याच गर्न नसक्दा नेपालले खेल आफ्नो पोल्टामा पार्न सकेन । नेदरल्याण्ड्सलाई जित दिलाउने क्रममा म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ४ चौका र १ छक्काको मदतमा नटआउट ४३ रन बनाए । यस्तै विक्रमजित सिंहले २२ र सिब्रान्ट एंगलब्रेटले १४ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । यसअघि खराब ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका प्रहार गरे । यस्तै करण केसीले १७, गुल्शन झाले १४ र अनिल शाहले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।
नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए । विश्वकपको दोस्रो खेल नेपालले बिहीबार श्रीलंकाविरुद्ध अमेरिकाको फ्लोरिडामा खेल्नेछ ।
नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । नेपालले पहिलो पटक यसअघि सन् २०१४ का बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । यसपटकको विश्वकपमा नेपालले समूह चरण पार गर्दै सुपर–८ मा पुग्ने लक्ष्य राखेपनि आजको हारसँगै उक्त यात्रा कठिन हुने देखिएको छ ।
जुन १ देखि अमेरिका र वेष्ट वेष्ट इण्डिजमा सुरु भएको विश्वकपमा नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । २० टोलीलाई विभिन्न ४ समूहमा विभाजन गरेको छ । जसअनुसार नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड रहेका छन् ।
यस्तै समूह ‘ए’मा भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् भने समूह ‘बी’मा वर्तमान विश्व विजेता इंगल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् । यस्तै समूह ‘सी’मा न्यूजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यूगिनी रहेका छन् ।
प्रत्येक समूहमा उत्कृष्ट २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । नेपालले गतवर्ष अक्टोबर–नोभेम्बरमा नेपालमा भएको एशिया क्षेत्र छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो ।
यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । जहाँ नेपालले ३ मध्ये २ खेल जिते पनि रनरेटमा बंगलादेश भन्दा पछि पर्दा समूह चरणबाटै बाहिरिएको थियो ।


























































