काठमाडौँ– मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिने भएका छन् । यो समेत पाँचौं पटक विश्वासका मत लिन लागेका यादवले आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का मुख्यमन्त्री यादवलाई कांग्रेसले मत दिने भएको छ । विश्वासको मत पाउनका लागि यादवलाई यसपटक कठिन देखिएको छ । उनलाई आफ्नै दल जसपा नेपाल र कांग्रेसले मात्र विश्वासको मत दिएर सरकार जोगाउन सकिदैन । जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् । सत्ता गठबन्धन बाहिर रहेका लोसपा अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन ।
मधेश प्रदेशसभामा १०७ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा हत्या अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएकाले निलम्बित छन् । अहिले सरकार बनाउनरटिकाउन ५४ सांसद आवश्यक पर्छ । तर वर्तमान मुख्यमन्त्रीसंग बहुमत पुग्ने दल (सांसद)को समर्थन छैन ।
विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार आजै बहिर्गमन हुनेछ । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि सत्ता गठबन्धनमा आवद्ध दलले दावी पेश गर्नेछन् ।


























































