काठमाडौँ– नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ ।
ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तव सहभागी थिए ।
कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागिता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।
नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।
नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए ।
उक्त कार्यक्रममा सहभागीहरुले १५० वटा वृक्षहरु रोपेका थिए ।




























































