काठमाडौँ – भारतीय सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको शिलान्यास गरिएको छ ।


ADVERTISEMENT


आइतबार ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.३९२ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिनेछ ।


ADVERTISEMENT

# # #


‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो ।

कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

प्यूठानको ऐरावती गाउँपालिकास्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्याउनेछ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये प्यूठानका २ वटा परियोजनासहित लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् ।

यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये प्यूठान जिल्लालाई प्रदान गरिएको १० वटा एम्बुलेन्ससहित लुम्बिनी प्रदेशलाई १६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।