काठमाडौँ – वेष्टइण्डिज र अमेरिकामा जारी आईसीसी टी–२० क्रिकेट विश्वकपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल सोमबार बिहान समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले हारेको हो ।


ADVERTISEMENT


सेन्टभिन्सेन्टको किंग्सटनस्थित आर्नस भाले मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले बंगलादेश १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने कुशल मल्लले २५ रन जोडे । यस्तै आशिफ शेखले १७ रन बनाए । नेपाललाई सस्तैमा समेट्नेक्रममा बंगलादेशका तान्जिम हसन साकिवले उत्कृष्ट बलिङ गरे । उनले सुरुवाती ३ ओभरमा २ मेडेन राख्दै ५ रन मात्रै खर्चिएर ३ विकेट लिए र आफ्नो अन्तिम ओभरमा २ रन दिएर थप १ विकेट लिएपछि नेपाल ७ ओभरमा २६ रन बनाउँदा ५ विकेटको क्षतिमा नाजुक अवस्थामा आयो ।

त्यसपछि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले छैटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ उन्मुख गराएका थिए । तर, कुशलको विकेट जाने वित्तिकै नेपालको ओरालो यात्रा सुरु भयो । त्यसपछिका १६ बलमा ९ रन जोड्दा नेपालले बाँकी रहेका चारै विकेट गुमाउँदै हार व्यहोर्न पुग्यो । त्यसक्रममा गुल्शन झा, सोमपाल कामी र अविनाश बोहरा खातै नखोली आउट भए ।

बंगलादेशका तान्जिमका अतिरिक्त मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने शाकिब अल हसनले २ तथा टास्किन अहमदले १ विकेट हात पारे ।

यसअघि बंगलादेशका लागि शाकिब अल हसनले २२ बलमा १७ रन जोडे । उनले यस क्रममा २ चौका प्रहार गरे । त्यस्तै, रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । उनले पनि दुई चौका प्रहार गरे । रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । जाकेर अलीले २६ बलमा १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।

बलिङ नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २ विकेट लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा ५४ खेलमा १ सय विकेट लिने पहिलो नेपाली बलर बने बने तीव्र गतिमा १ सय टी–२० अन्तर्राष्ट्रिय विकेट लिनले दोस्रो खेलाडी बने । यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले मात्र २२ रन खर्च गरे ।

यस्तै सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले १० रन मात्र खर्चिए ।

आजको हारसँगै नेपाल विश्वकपमा एउटा पनि जित हात पार्न नसकी स्वदेश फर्किएको छ । पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले हारेको नेपाल दोस्रो खेलमा वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग १–१ अंक बाँडेको थियो । यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले स्तब्ध हुनुपरेको थियो ।