काठमाडौँ – सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


इस्लाम धर्मावलम्बीको पर्व बकर इद (अल अजहा) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


सभामुख घिमिरेले नेपालको संविधानले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अधिकार प्रदान गरेको उल्लेख गरेका छन् ।

“सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको हाम्रो देशमा बकर इदले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु,” शुभकामना सन्देशमा भनिएको छ ।

नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी रहेको छ । हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् । उनले सनातनदेखि आस्थाको धरोहरको रूपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार भएको बताए ।

सभामुख घिमिरेले बकर इद इस्लाम समुदायको सबैभन्दा महत्त्वपूर्ण र विश्वभरका मुस्लिमले मनाउने दोस्रो प्रमुख इस्लामिक चाड भएको भन्दै उक्त पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् ।