काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी आर्थिक वर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले असार ९ गतेदेखिको संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बजेटको पक्ष वा विपक्षमा मत दिने भन्ने बारेमा सोहि समयमा निर्णय गर्ने उनको भनाई छ ।
त्यस्तै बैठकले पार्टी प्रतिपक्षीमा रहेको अवस्थामा देश र जनताको सवालहरुलाई सघन ढंगले उठाउनुपर्ने दायित्व आफुहरुको भएको अवस्थामा सदनको बैठकमा निरन्तर उपस्थिति जनाउन र देश र जनताको सवाल उठान गर्न पनि निर्देशन दिएको उनले बताए ।
लेखकले कांग्रेस सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावलाई कायम राख्ने बताए । उनले बजेटको वितरण अपरिपक्व, पूर्वाग्रही रहेको बताए ।



























































