काठमाडौँ–तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले आन्दोलन जारी राखेका छन् ।


ADVERTISEMENT


सरकारले आफुहरुको मागमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले आइतबार संसद भवन नयाँ बानेश्वरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आफ्ना मागका बारेमा छलफल भएपनि लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि प्रभावित भएको छ ।

संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलनमा छन् ।

कर्मचारीहरुको निरन्तरको आन्दोलनपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलपछि कर्मचारीको मागबारे सहजिकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेका छन् । समितिले एक दुई दिनभित्रै कर्मचारीसंग छलफल गरेर निष्कर्ष निकाल्ने कानूनमन्त्री गिरीले जानकारी दिए ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री सहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए । कर्मचारीको आन्दोलनका कारण संसदका गतिविधिहरु प्रभावित हुदै आएको छ ।