काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् ।


ADVERTISEMENT


अन्डर–१९ भलिबल प्रतियोगिताको आइतबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको भन्दै खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति विशेष पहल लिँदै आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे । उनले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

त्यस्तै उनले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने बताए ।

सहाना प्रधान प्रतिष्ठानको आयोजना र नेपाल भलिबल संघको व्यवस्थापनामा सुरु प्रतियोगीता असार १५ गतेसम्म चल्ने छ । पुरुष र महिला दुवै तर्फको प्रथम द्वितिय र तृतीय हुनेलाई क्रमश तीन लाख, दुई लाख र १ लाख प्राप्त गर्नेछन् भने प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र व्यक्तिगत विधातर्फ १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।