काठमाडौँ –  कम्पनीमा काम लगाइदिन्छु भन्दै युएई पुर्‍याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर ८ का ४२ वर्षीय मनोज महर्जन पक्राउ परेका हुन्।


ADVERTISEMENT


उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गत शुक्रबार ९असार ७० गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। ‘उनले संयुक्त अरब इमिरेट्सको दुबई सहरमा टिस्यु पेपर प्याक गर्ने कम्पनीमा काम लगाइदिन्छु भन्दै बेचेको निवेदन आएको छ,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले भने। सोही आधारमा उनलाई पक्राउ गरिएको उनले जानकारी दिए।


ADVERTISEMENT

# # #


प्रहरीको प्रारम्भिक अनुसन्धानमा महर्जन वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद भुक्तान गरी गत चैत महिनामा मात्र कारागारबाट छुटेको खुल्न आएको छ। साथै श्रम स्वीकृति नलिई भिजिट भिसामा पठाउने गरेको पनि अनुसन्धानमा देखिएको उनी बताउँछन्।

प्रहरीका अनुसार गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दुबईमा पुर्‍याई घरेलु कामदारहरू पठाउने एजेन्ट अफिसमा बेचबिखन गरेको खुल्न आएको हो। एजेन्ट अफिसले बन्धक बनाई विभिन्न व्यक्तिहरूको घरेलु कामदारको रूपमा पठाई शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितहरूले बताएका छन्।

त्यसैले उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए।