काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटभेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए ।

‘सरकारका कामलाई गतिशील र व्यवस्थित ढंगले अघि बढाउने र ‘सत्ता साझेदार दलहरूबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा छलफल भयो,’ मल्लले भने, ‘समग्रमा छलफल एकदमै राम्रो भएको छ ।’

यसअघि, हिजोपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको थियो । उनीहरुबीच भेटको क्रममा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए ।

सिंहदरबारमा हिजो भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भएको बताइएको छ । उनीहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा समेत छलफल भएको बताइएको छ ।

एमाले अध्यक्ष ओलीले शनिवार प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग लामो संवाद गरेपछि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओ‌लीबीच हिजो भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए ।

सभापति देउवा र अध्यक्ष ओलीबीच भएका छलफलका विषय सार्वजनिक नभएपनि यो भेटघाटलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ । यद्यपी नेताहरुले यो भेटवार्ता नियमित भएको बताएका छन् ।

प्रमुख दलका शीर्ष नेताहरुको भेटवार्ताको पृष्ठभूमिमा सभापति देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा दिउँसो ३ बजे बस्ने गरी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो ।