काठमाडौँ– बाँकेमा प्रहरीले चोरी कसुरमा ६ वर्ष सजाय पाएका अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।
प्रहरीले बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका-६ शिखनपरुवामा गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो ।
सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो ।
तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको ती प्रहरी अधिकारीको भनाइ छ ।
झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् ।
घाइते सबैको हाल भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।



























































