काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आगामी नोभेम्बर/डिसेम्बरमा आफ्नै स्वामित्वको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट आयोजना गर्ने भएको छ । बिहीबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन् ।


ADVERTISEMENT


यसअघि भएको नेपाल टी–२० लिग विवादमा परेपछि क्यानले आफ्नै रेखदेख र स्वामित्वमा नेपाल प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रतियोगिताको मिति तय भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै बिहीबारको बोर्ड बैठकले विभिन्न १३ निर्णय गरेको छ । जस अनुसार राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई केन्द्रीय खेलाडी सम्झौताको ‘ग्रेड ए’मा अनुबन्ध गरिएको छ । बलात्कार मुद्दामा सफाई पाएसँगै उनललाई सम्झौतामा समेटिएको हो ।

यस्तै क्यानले राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारीको निलम्बन फुकुवा गर्ने प्रक्रिया सुरु गरेको छ । जसका लागि क्यानले क्यानको खेलाडी अनुशासन समितिलाई १ हप्ताभित्र निर्णय गर्ने जिम्मेवारी दिएको छ । नेपाल टी–२० लिगको बेला म्याच फिक्सिङ प्रकरणमा उनी निलम्बित भएका थिए ।

यस्तै क्यानले महिला क्रिकेटर अप्सरी बेगमलाई अनुशासन कारबाही गर्दै निलम्बन गरेको छ भने क्यानविरुद्ध भ्रामक प्रचार गरेको भन्दै क्यानका उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्य माधव कर्माचार्य तथा दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यस्तै क्यानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरको स्तरोन्नती गर्ने, सात वटै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर खोल्ने तथा सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डका टर्फ विकेट निर्माण गर्ने निर्णय गरेको छ ।