काठमाडौं- मुख्यमन्त्री बानियाँले खेलकुदले अनुशासित, स्वस्थ र सक्षम नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
अन्तर्राष्ट्रिय क्युकोसिन कराते डो संघको आयोजनामा भएको पाँचौं राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु आजको आवश्यकता रहेको बताएका छन्। उनले करातेजस्ता मार्शल आर्टले शारीरिक तन्दुरुस्ती, आत्मविश्वास, अनुशासन र सकारात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरेका छन्।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार विस्तार तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकतामा राखेको बताएका छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी उत्पादनका लागि सरकार र खेलकुद संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा उनले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्दै खेलभावना, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई आत्मसात् गर्दै अगाडि बढ्न आग्रह गरे। साथै, खेलकुदमार्फत नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित हुने विश्वास व्यक्त गरेका छन्।



























































