काठमाडौँ – लक्ष्मी सनराइज बैँकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकामा आफ्नो सेवा विस्तार गर्न शाखा स्थानान्तरण गरेको छ ।
बैंकले बौद्धमा रहेका आफ्ना दुई शाखा मध्ये एउटा नयाँ स्थानमा स्थानान्तरण गरेको हो । जसअनुसार यसअघि गोकर्णेश्वर नगरपालिका–६ बौद्धमा रहेको शाखालाई कागेश्वरी मनोहरा नगरपालिका–५ थालीमा सारिएको छ ।
यो कदमसँगै बैंकले अब नयाँ र पहिले सेवा नपुगेका क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न सक्नेछ । नयाँ स्थानान्तरण गरिएको शाखाले आफ्ना ग्राहकहरूलाई पूर्ण दायराको बैंकिङ सेवाहरू प्रदान गर्न र साना तथा ठूला व्यवसायहरूमा आफ्ना सेवाहरू विस्तार गर्न सक्नेछ ।
लक्ष्मी सनराइजको नेटवर्कमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्टहरू छन्। बैंकले ‘ब्रिक्स एण्ड क्लिक्स’ रणनीतिको एक हिस्साको रूपमा ग्राहकहरूलाई मोबाइल र इन्टरनेट बैंकिङ जस्ता हरित बैंकिङ र डिजिटल च्यानलहरू मार्फत समेत सेवा प्रदान गर्दै आएको छ ।



























































