हेटौँडा – बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
केन्द्रीय राजनीतिमा सत्ता नयाँ सत्ता समीकरणको सहमति भएसँगै बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू बाहिरिएका हुन् ।
गत चैत्र १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रो पटक सहभागी भएको एमाले केन्द्रमा नयाँ गठबन्धन भएपछि बागमती प्रदेश सरकारबाट बाहिरिएको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।



























































