काठमाडौं-स्पेनिस ला लिगाको यस सिजनमा पछि परिरहेको पावर हाउस रियल मड्रिडले शनिबारको खेलमा सानदार जित निकाल्न सफल भएको छ। रियल सोसिडाड विरुद्ध ५-२ को जित हात पार्दा यस सिजनमा धेरै गोल गर्न नसकेका रोनाल्डोले ह्याट्रिक गर्न सफल भए।


ADVERTISEMENT


रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा लुकासाले पहिलो मिनेटमै गोल गरी रियल मड्रिडलाई अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले २७, ३७ र ८० औं मिनेटमा गोल गरे भने ३४ औं मिनेटमा टोनी क्रुसले गोल गरे।


ADVERTISEMENT

# # #


रियल सोसिडाडका लागि ७४ औं मिनेटमा जोन बाटिस्टा र ८३ औं मिनेटमा एसिर इल्लारमेन्डीले गोल गरेका थिए। यस सानदार जितसँगै रियल मड्रिड अंक तालिकामा एक स्थान माथि उक्लिन सफल भएको छ । २२ खेलबाट ४२ अंक जोडेको रियल मड्रिड भ्यालेन्सियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिन सफल भएको छ। शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै १६ र दोस्रो स्थानको यथ्लेटिको मड्रिड भन्दा १० अंकले पछिरहेको रियल मड्रिडलाई उपाधि हात पार्न भने निकै मुस्किल देखिन्छ।

शनिबार नै भएको खेलमा मालागामाथि १-० को जित निकालेको यथ्लेटिको मड्रिड २३ खेलबाट ५२ अंक बनाउँदै शीर्ष स्थानको बार्सिलोनालाई पछ्याइरहेको छ। २२ खेलबाट ५८ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा कायम छ। २२ खेलबाटै ४० अंक बनाएको भ्यालेन्सिया भने चौथो स्थानमा धकेलिएको छ।

ला लिगाको शनिबारका अन्य खेलमा अलाभेजले भिल्लारियउललाई २-१ पराजित गर्‍यो। आइबरले लेगानेजमाथि १-० को जित निकाल्यो।