काठमाडौँ – नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले संघीय सांसदले नै घुस दिएको भन्ने विषयमा सत्यतथ्य सदनमा जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै केसीले जसपा सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालयअन्तर्गत रहेको सानोठिमी कार्यालयमा पाँच हजार घुस दिएको भन्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनका लागि रुलिङ गर्न माग गरेका हुन् ।
उनले सांसदको छोराको सर्टिफिकेट प्रमाणीकरणका लागि पाँच हजार घुस दिनुपर्ने अवस्था सामान्य नभएको जिकिर गरे । उनले उक्त विषयमा सरकारले छानविन गर्नुपर्ने बताए ।
यसअघिको बैठकमा जसपाका सांसद वीरेन्द्र महतोले सानोठिमी कार्यालयमा सर्टिफिकेट प्रमाणिकरण गर्न घुस दिनुपरेको अभिव्यक्ति दिएका थिए ।



























































